कथाः-
"प्रमिशा-मेरी प्रियसी"
लेखक: सागर चापागाई
टाउको दुखेको कारण म अफिसबाट आएदेखि सुतिरहेको थिएँ।प्रमिशा ढोका ढक्ढकाउँदै मेरो रुममा छिरी।के गरेर बस्दै छौ भनेर सोधी।मैले पनि टाउको दुखेको कारण सुतिरहेको बताएँ।खै के जादु थियो उसको स्पर्शमा।आधा भन्दा बढि टाउको दुखाई त त्यतिबेलै कम भईसकेको थियो जब उसले "ज्वरो पनि आ'छ कि क्या हो?" भन्दै मेरो निधार छोएकी थिई।
"अफिसबाट आएदेखि सुतिरा'छौ।निकैबेर भैसक्यो त सुतेको।औषधी ल्याईदिम्?"
"पर्दैन।पर्दैन।अहिले ठीक छु।"मैले यसो भन्दा उसले मलाई नौलो दृष्टीले हेरी।सायद ऊ मनमनै केही सोच्दै थिई होली।
"अनि कोठाको के हाल बनाएको यस्तो? अस्ति भर्खर मैले चिटिक्क पारिदिएकी थिएँ।फेरी भद्रगोल पारेछ।" ऊ कड्किएर बोली।
"केटीहरु मात्र हुन् कोठा सफा राख्ने।केटाहरुको रुम यस्तै हो।सधैँ भद्रगोल।" बडो शानले बोलेँ म।
"चुप लाग फटाहा।अरु मान्छेहरु कस्ता जाँगरिला हुन्छन्।तिमी मात्र हो अल्छी केटो।" कोठा मिलाउँदै गर्दा उसले भनी।म केही नबोली चुपचाप उभिएँ।उभिरहेँ।धन्न बिहानका झूठा भाँडा माझिसकेको थिएँ र मात्र।नत्र त खानुसम्म गाली खाईन्थ्यो।अस्ती एकपटक त "छि: छि: फोहोरी।झूठा भाँडा यतिकै नमाझी राख्या छौ" भनेर हप्काउँदै थिई।माझिदिएको पनि थिई उसैले।
टेबलभरी छरिएका कागजपत्र समेटेर एक ठाउँमा राखिदिई।कुचो लागाई।कसिंगर लगेर डस्टबीनमा फालिदिई।तन्ना,तकिया सबथोक मिलाई अनि बोली,"बल्ल दामी देखियो रुम।अब अर्कोचोटी पनि भद्रगोल देखेँ भने तिम्रो कान लुछिदिन्छु।" धम्की दिन पनि खूब माहिर थिई।यति हक बन्थ्यो उसलाई।
"तिमीलाई सञ्चो छैन रहेछ।खाना मेरैमा पकाउँछु आज।खान आऊ।"
खाना आफै पकाउन सक्ने बताएँ।उसलाई अझै कति दुःख दिनुझैँ लाग्थ्यो।एउटा अन्जान मान्छेको यति धेरै केयर गरिरहेकी थिई।मेरो लागि यति काफी थियो।
"हाम्रो मा त के खान्थ्यौ र।आफू त्यति मिठो पकाउँछौ।हामीले पकाएको नमिठो होला फेरी।"शब्दले बेस्सरी घोचीहाली।
"तिमीले पकाएको त जिन्दगीभर खानु छ नि प्यारी।त्यहि भएर आज दुःख नदे'को।"भन्न मन थियो तर भनिनँ।
"त्यस्तो होईन।"यति भनेँ।ऊ त्यहाँबाट गई।म पनि खाना बनाउन थालेँ।खाना बनाईसकेपछि आफूले बनाएको तरकारी चखाउन प्रमिशाको रुमतीर लिएर गएँ।उताबाट पनि लिएर आएँ।खाना खाएँ र जुठा भाँडा त्यसै छोडेर बाहिर निस्किएँ।पसलमा छिरेर रिचार्ज कार्ड किनेँ।कार्ड सँगसँगै दईवटा चकलेट पनि किनेँ।क्याडवेरी चकलेट।घरमा फोन नगरेको तीन-चार दिन भईसकेको थियो।रुमतीर फर्किदै गर्दा घरमा फोन गरेँ। आमा,बुवा,भाई,बहिनी सबैसँग बोलेँ।
रूममा आईपुगेर मेरो रुम सफा गरिदिएको बापत ट्रिट भन्दै अघि पसलमा किनेको क्याडवेरी चकलेट प्रमिशालाई दिएँ।ऊ भाँडा माझ्दै थिई।चकलेट बहिनीले समाती।दुवैले थ्याङ्कस् भने।प्रकृतिले आधा चकलेट भाँची र मलाई दिई।उनीहरुको मन राख्नको लागि भएपनि मैले खाईदिएँ।
"मेरो भाँडा नि माझिदिन्छौ?" चक्लेट खाँदै गर्दा प्रमिशालाई जिस्काएँ।ऊ आँखा तरेर हेर्दै थिई।
"ल्याई स्यो न दादा।मेरी दिदी डेक्ची ड्राईभर हुँदा हुँदै हजुरलाई के को दुःख।"उसकी बहिनी मेरै पक्षमा बोली।म झन् जोडले हाँसिदिएँ।
"मलाई नजिस्काओ है।अहिले फेरी दुईटैलाई कुटिदिउँला।"प्रमिशा बोली।
"हामीलाई कुट्ने रे।हेर त बेबे तिम्री दिदीले फूँई लाकी।"
"त्यही त भन्या।लुरी डन बन्न खोज्दै छे।"उसकी बहिनीले थपी।
दिदीले माझेको भाँडा बहिनीले पखालेर सफा कपडाले पुछी र लगेर यथावत स्थानमा राखी।केहीबेर हामी त्यहीँ बसेर गफ गर्यौँ र उनीहरुको गुड नाईट र स्वीट ड्रिम्स बोकेर म आफ्नो ओच्छयानमा आएर पल्टिएँ।
प्रेमका पालुवाहरु त पहिलो नजरमै पलाईसकेका थिए।पछि त्यही पालुवा मौलाएर झाङ्गियो।न त लुछेर मिल्काउन सक्थेँ न त जरै मास्न।सक्थेँ त केबल अङ्गालन सक्थेँ।हेरचाह गर्न सक्थेँ।उनका ती गहिरा आँखा,ती मनमोहक मुस्कान,ती सुमधुर बोली र ती दिल खुशाउने उनको व्यवहार।यति सम्झिएँ पछि बाँकी केही सम्झिने फुर्सद हुँदैन्थ्यो मलाई।जहाँ गयो उसैको आकृति चित्रण गर्थेँ।धेरै पटक अफिसका लेडिज स्टाफहरुलाई पनि प्रमिशाको नामले बोलाएको मलाई अझैपनि याद छ।कति गुम हुँदै थिएँ म कसैको प्रेमिल दुनियाँमा।अफिसको दश-चार को ड्यूटिको लागि ऊबाट टाढिदा पनि यस्तो लाग्थ्यो मानौँ हामी बिछोडिएको सदियौँ भईसकेको छ।स्कुल लाईफ,कलेज लाईफ यी सबैमा पनि त थुप्रै केटी साथीहरु थिए।प्रायः सबै उत्तिकै मिल्थे तर उनीहरुको अनुपस्थितीमा पनि मलाई उनीहरुको यति धेरै अभाव कहिल्यै महशूश भएन। उसैलाई मात्र खोजिरहने यी आँखाहरुलाई दिलले पनि साथ दिईरहेको थियो।धड्कनको चालचालमा उसलाई खोज्नुको आशय के हुन सक्छ?के यो माया हो? सायद हो।मैले यसैलाई प्रेमको परिभाषा ठानेँ।
एकदिन अफिसबाट रुमतीर फर्किदै गर्दा बसमा मेरै छेउमा बसेको लगभग मेरै जस्तो उमेरको एउटा अञ्जान व्यक्तिको मूखबाट टुँडिखेलमा आयोजना हुन लागेको लाईभ कन्सर्टको बारेमा सुनेँ।फोनमा कसैसँग गफिरहेको थियो ऊ।उसले फोन राख्नासाथ मैले कन्सर्टको बारेमा बुझ्न खोजेँ।ऊ ओर्लिने ठाँऊ आईसकेको रहेछ।हतारहतार आफ्नो पर्सबाट एउटा सानो कार्ड झिकेर मेरो हातमा थमाउँदै त्यस कन्सर्टको थप जानकारी सोही कार्डमा रहेको बतायो र त्यहाँबाट निस्कियो।यसो कार्ड हेरेँ।उसले बुधबार अर्थात आजको ठीक दुई दिन पछि आयोजना हुन लागेको कन्सर्टको कुरो गरेको रहेछ जहाँ थुप्रै चर्चित गायक,गायिकाहरु आउनेवाला थिए।जसमध्ये एउटा मेरो सबैभन्दा प्रीय गायक पनि थिए।मेरो नभनौँ।हाम्रो।हाम्रो अर्थात प्रमिशा र मेरो।हामी दुवै जना एउटै गायकको ठूलो फ्यान थियौँ र ती गायक त्यस कन्सर्टमा आउनेवाला थिए।रुम पुग्नासाथ प्रमिशालाइ सबथोक बताएँ।ऊ मख्ख पर्दै सँगै जाने सहमती जनाई।त्यसदिन उसकी बहिनी साथीको बर्थ डे पार्टी एटेन्ड गर्न जानु पर्ने भएकोले हामी दुई जना मात्र जाने सुवर्ण अवसर मिल्यो।यस्तो लाग्दै थियो,मानौँ म आफ्नी प्रेमिकासँग डेट जाँदैछु।
मैले यति सबथोक उसलाई सुनाउँदै गर्दा ऊ चियाको प्यालाले रित्तो कप भर्दै थिई।चिया पिएर म त्यहाँबाट निस्किएँ र बुधबारको दिनको प्रतिक्षा गर्न थालेँ।