' कठै बिचरी राधिका' 'हरे शिव ! कस्तो कर्म बिचरीको' '१९ बर्षमै वैबध्य !' 'हरे भगवान !'
मेरो कानमा यस्ता अनेकौँ साहनुभूति दर्शाउने शब्दहरु ठोक्कीरहे । म त्यही शब्दहरुका लागि भए पनि रुने कोशिश गरिरहेँ तर बैरी आँखाहरु रसाउन सम्म मानेनन । केही सिप नलागेर मैले आफ्नो मैलो न मैलो भएको ओढ़नेमा अनुहार लुकाएर रोएको जस्तै गरेँ ।
लोग्नेको रुपमा नसही, एउटा मान्छेको मृत्युमा त दुख्नुपर्ने हो यो मन तर फेरि दामोदर मान्छे पो कहाँ थियो र ?
लगभग ४ वर्ष अघि भरखर १५ वर्ष पनि नपुगेकी मलाई मेरा बाबु आमाले मन्दिरमा टीको टालो गरेर दामोदरको ज़िम्मा लागाईदिएका थिए। उनीहरुको नजरमा उनीहरुले मेरो वर्तमान र भविश्य सुरक्षित गरिदिएका थिए मलाई २८ बर्षको, एयरपोर्टमा काम गर्ने दामोदरको ज़िम्मा लगाएर तर खासमा त उनीहरुले मेरो बाँच्ने हक खोसेका थिए मलाई दामोदर नामको त्यो नरपिचासको जिम्मालगाएर ।
मानिसमा हुनुपर्ने कुनै गुण उसमा थिएन । श्रृष्टीमा भएका हरेक अबगुण र खराबिहरु थिए सायद उसमा । जाँड खान्थ्यो, होईन जाँडले उसलाई खान्थ्यो । गाँजा, चरेस र अरु पनि कुनै अम्मल थियो भने त्यो पनि उसले छोडेकोथिएन । होस हराए पछि श्रृष्टीका हरेक स्वस्नीमान्छेलाई भोग्ने चाहना राख्थ्यो जुन की संभव थिएन, त्यसैले म माथि आफ्नो मनमानी गरेर चित्त बुझाउँथ्यो, दिनमा, रातमा कैयौं पटक । बिरोध गरे ज़बरदस्ती गर्थ्यो, मर्लान्त पिटथ्यो । मुखमा आएको फोहर गाली गर्थ्यो । जगल्ट्याउँथ्यो । उसको मारले थलापरेको बेलामा त झनै मनमानी गर्थ्यो मेरो शरीरसँग । रगताम्य भएको पर्वाह पनि गर्थेन । यस्तो बेला कैयौं पटक मैले उसको मृत्युको कामना गरेकी थिएँ र आज मेरो त्यही कामना पुरा भएथ्यो सायद ।
अत्याधिक रक्सी पिएर रगत छादेर मरेको थियो ऊ । के म साँच्चै उसको मृत्यु नै चाहन्थेँ त ? सायद । तर यो चाहिँ पक्का ह—म मुक्ती चाहन्थेँ उसको त्यो पासविकताबाट ।
आफुले कमाए जति सबै पैसा उडाएर नपुगेर ऊ मैले कामगरेर कमाएको पैसासमेत जबरजस्ती खोसेर लैजान्थ्यो । काममै पुगेर घोक्राउँदै मुन्ट्याउँदै घर ल्याएर ज़बरदस्ती गर्थ्यो । न पेटभरी खाए नखाएको पर्वाह गर्थ्यो न आङ् ढाकेको नढाकेको । आफ्नो पेट भरिनु र भोक मर्नु नै सबै भन्दा ठुलो थियो उसका लागि ।
उसको गाउँसम्म उसको यो गुनगान पुगेको थिएन वा ऊ लोग्ने मान्छे, कमाउने लोग्नेमान्छे थियो, कारण जे भएपनि ऊ लायक मानिन्थ्यो, त्यसैले त त्यहाँका मानिसहरु मेरो इर्ष्या गर्दथे मेरो बिहे दामोदरसँग भएकोमा अनि मेरा बाबु आमा दङ्गदास पर्थे आफुले पौरखी ज्वाई भेट्टाएकोमा ।
त्यसमाथि मेरो दु:ख सुनेर मलाई मद्दत गर्ने स्थितिमा कहाँ थिए र उनीहरु ? झन बिहेगरेर दिएकी छोरीको घर सप्रे भाग्य, बिग्रे दुर्भाग्य भन्ने उक्ती त छँदैथियो मन बुझाउन । उनीहरु पनि मन चित्त बुझाएर पाखालागे ।
मै थिएँ, जो न कसैलाई आफ्नो ब्यथा देखाउन सक्थेँ न कसैलई आफ्नो कथा सुनाउन सक्थेँ । न उसलाई छोडेर भाग्न सक्थेँ न उसलाई मनमानी गर्नबाट रोक्न सक्थेँ । यस्तोमा उसको त्यसरी मर्नुले मेरा आँखाले रसाउन मानेनन् त के यो मेरो अपराध हो ?
१३ दिनको काम सकिएपछि उसका बाबु आमाले मलाई छोरोको मृत्युको ज़िम्मेवारीकासाथ आफ्नो जिम्मेवारीबाट पाखा लगाए ।
मेरा बाबु आमाको आफ्नै दुखेसो थियो । जवान बिधवा छोरीको ज़िम्मेवारी उठाउनुपर्ला भनेर त्रस्त थिए उनीहरु । हाम्रो समाजमा स्वास्नीमान्छे एक्लैछोडिनू भनेको स्वतन्त्रहुनू नभएर निरीह हुनू हो । त्यसमाथि मजस्ति काँचो उमेरकी, स्कुलको मुख नदेखेकी, अक्षर नचिनेकी आइमाई, जसको साथमा न बाउआमा उभिएका थिए न लोग्ने, कहाँ जान्थें आश्रय खोज्न ? काठमाण्डूमा त कमसेकम काम थियो । चार पैसाको जोहो थियो त्यहिभएर म चुपचाप काठमाण्डौ फर्किएँ । यहि सहर यस्तो थियो जो हरेकलाई आश्रय दिन्थ्यो । आफ्नो छातीमा चुपचाप समेट्थ्यो सबैलाई ।
काठमाण्डू पुगेर म तिनै दिदीको सरणागत भएँ जसको गार्मेन्टमा पहिले कामगर्थें । मेरो राम काहानी सुनेर टिठाएकी दिदीले मलाई आफ्नै घर पछाडिको गोदामको एउटा कुनोमा बस्न दिईन । बदलामा म साँझ बिहान, फ़ुर्सतमा उनको घरको काम सघाई दिन्थेँ ।
उनी नै पहिलो ब्यक्ति थिईन जस्ले म गर्भवती भएको सुनेर गर्भ तुहाउने सल्लाह दिएकीथिइन ।
"यति सानो उमेरमा, यस्तो अवस्थामा बच्चा पाएर के गर्छ्यौ ? म लगेर अबोर्सन गराई दिन्छु । पहिले आफ्नो बारेमा सोच । बच्चाको बारेमा सोच्न त सिङ्गो जीवन बाँकीछँदैछ नि ।" उनले भनेकीथिइन् । तर मेरो लागि त आफ्नो बारेमा सोच्न न हिजो केही थियो न आज केही छ न भोलि केही हुनेछ । अब मसँग जे थियो बाँचिरहनका लागि, त्यो मेरो गर्भमा भएको दामोदरको अंस थियो । त्यो बाहेक मसँग अरु केही थिएन ।
त्यसपछि ज-जसलाई थाहाभयो मेरो गर्भको बारेमा, ती सबले मलाई गर्भपातको सल्लाह दिए । तर मैले कसैको कुरा सुनिनँ ।
काममा लागेको दिन देखि पेट काटी काटी गर्भको संतानको नाममा पैसा जोडन थालेँ । पुराना फाटा टालटुल गरेर लगाएर, आधापेट खाएर पनि संतुष्ट थिएँ म ।
आफ्नो कोख बाट जन्मने संन्तानलाई म न 'राधिका' बनाउन चाहन्थेँ न 'दामोदर' । म उसलाई एउटा मान्छे बनाउन चाहन्थेँ । पढेलेखेको, सभ्य, अरुको भावना बुझ्ने, अरुको सम्मान गर्ने मान्छे । तर कहिलेकाहीँ डरलाग्थ्यो— कतै दामोदरको रगतले उसैको बिकृती पछ्याउने त होइन ? तर फेरि मलाई आफ्नो दुध, रगत, आस्था, तपस्या र बलिदान माथि बिश्वाश थियो ।
अनेक कष्ट सहेर मैले महीना पुगेपछि छोरो जन्माएँ । आमा भएको गौरव र सुखले आफ्नो सारा कष्ट बिर्षिएँ मैले ।
छोरो जति जति ठुलो हुदैगयो मेरो भोकै सुत्ने क्रम बढदैगयो । दिनरात हाड़ घोटेर म जति पैसा कमाउँथें, त्यसमा एकै जनाको गुजारा हुनु ठुलो कुरा थियो त्यसमाथि छोराको स्कुल, किताब, कापी, फिस, लुगा फाटोको खर्च त छँदै थियो ।
मैले छोराको नाम श्रवण राखेको थिएँ र उसमा गुण पनि उस्तै चाहन्थेँ म । हरेक आमाहरुको झैँ मेरा पनि अनगिन्ति सपना र आकाङ्क्ष्याहरु गाँसिएकाथिए उसँग ।
दिनहरु बितिरहे । मेरो छोरो श्रबण समझदार हुँदैगयो । मेरो अनअथक परिश्रम र कठिनाईहरुसँग दुईचार हुँदै हुर्केको ऊ सानै देखि समझदार र परिश्रमी हुदैगयो । दुब्लो पातलो शरिरको श्रवण हरबखत पढाईमा खटिईरहन्थ्यो । धेरै कम बोल्थ्यो तर प्राय यो भन्न बिर्षन्थेन "आमा मलाई जन्मदिएकोमा तपाईँले पछुताउनु पर्ने छैन । म तपाईँको लायकको छोरो भएर देखाउनेछु । म तपाईँको श्रवण कुमार भएर देखाउँछु ।"
मेरो छाती गर्वले चौडिन्थ्यो ।
मेरो छोराले बोर्डमा फस्ट भएर एस एल सी पास गर्यो । म अनपढका लागि त्यसको महत्व थाहा नभएता पनि वरपरकाहरूले दिएको बधाई, छोरोको खुसीले धपक्क बलेको अनुहारले मलाई पनि खुसी तुल्यायो ।
छोराको अनअथक मेहनत र कोशिशले अगाडि पढन स्कलरसिप पायो जसको मैले यत्ति नै उपलब्धि मानेँ —अब मैले महँगो स्कुल फिस तिर्न परेन ।
छोराले भावपुर्ण स्वरमा भन्यो," अब यो बचेको पैसाले आफुलाई एकजोर न्यानो लुगा हालिहाल्नुस् । मैले देखेदेखि तपाईँले कहिल्यै नयाँ, न्यानो लुगा लगाउनु भएको छैन ।"
मेरो शरीर मात्र होईन मन र आत्मा पनि न्यानो भयो ।
"मलाई किन चाहियो नयाँ लुगा ? म कहाँ जान्छुर ? तँ पो त स्कुल कलेज जान्छस । तँलाई पो न्यानो लुगा चाहिन्छ ।" मैले उसलाई अँगालेर गदगद स्वरमा भनेँ ।
"मलाई एकपटक पढाई सकेर कमाउन दिनुस आमा, म तपाईँलाई रानी माहारानी बनाएर राख्छु ।" उसले मेरा रुखा, खस्रा, पटपटी फुटेका हातलाई आफ्नो हातमा लिदै भन्यो । म त्यतिले नै धन्यभएँ ।
बितेका बर्षहरुमा कतिले मसँग बिहेगर्ने उत्सुकता देखाए । मेरो छोरोको बाबु भएर देखाउने प्रतिवध्धता देखाए तर मैले कसैको कुरा सुनिनँ । मानिनँ ।
एक त दामोदरले क्षत विक्षत पारेको शरीर र आत्मा अरु कसैको बिश्वाश गर्नै मान्थेन त्यो भन्दा पनि ठुलो, श्रवणको चिन्ताले मलाई अरु कसैको हात थाम्न दिन्थेन । मलाई मेरो आफ्नो आवश्यकता सधैँ तुक्ष्य लाग्थ्यो मेरो संन्तानको सहुलियतको तुलनामा ।
रातदिनको मेहनत र बिलक्षण प्रतिभाको कारण मेरो छोरो स्कलरशिप पाएर अगाडि पढन अमेरीका जानपाउने भयो । तर त्यहाँसम्म पुग्नलाई थपथाप गर्नुपर्ने पैसा मसँग थिएन । मेरो पढन्ते, जेहन्दार छोराले मेरो असमर्थता देखेर मन मार्यो ।
यस्तोमा मलाई बासदिने दिदी अगाडि आईन ।
साहुनी दिदीले मेरो गारो साँघुरोमा सधैँ काम लगेकीथिईन दामोदर गएदेखि, यसपटक त झन रिणी नै बनाईन उन्ले मलाई । पुगनपुग ख़र्च हालीदिएर, श्रवणलाई अमेरीकाजाने चाँजो फाँजो मिलाईदिएर दिदीले ममाथि उतार्नै नसक्ने गुन लाएकीथिईन। नत्र म गरिवको के लाग्थ्यो र ? सापटै भनेर दिएपनि उनले त्यतिबेला दिएको त्यो पैसा मेरालागि एकदमै ठूलो सहयोग थियो । छोरालाई चाहिनेजति पैसा मेरो हातमा राखिदिंदै उनले भनेकीथिइन्, ' कत्रा कत्रा मैँ हुँ भन्नेहरुले पाउँदैनन यो मौका, तिम्रो छोरोको पुर्पुरो बलियोरैछ, र पायो । पैसाको के ? सकेको तिमी तिर्दैगर, तिमीले नसकेको तिम्रो छोरोले तिर्छ ।'
पैसाको पिरलो सकिएपछि बल्ल श्रवणसँग छुट्टीने चिन्ताले छटपटायो मलाई । कसरी बाँच्थेँ म ऊ बिना ? उसको उपलब्धिले खुशि हुनभन्दा पनि ऊसँग टाढिने दु:खले मर्माहत भएँ म ।
गर्भमा बसेको थाहापाएदेखि श्रवण मेरो बाँच्नुको आधार बनेको थियो । नत्र त किन पो बाँच्थे र म यो थङ्थिलो भएको शरीर र मन लिएर ? आजसम्म एउटा सानो कोठामा, एउटै ओच्छ्यानमा उसलाई च्यापेर सुत्दा पेट भोकै भएपनि मन सधैँ अघाएको हुन्थ्यो मेरो । तर अब ?
श्रवणले अनेकौँ तरहले संझाएपछि मैले छातीमा ढुङ्गा राखेर उसलाई बिदादिएँ । बिचारा ऊ पनि रुदैँ सुकसुकाउँदै अमेरीकातिर लाग्यो ।
मलाई यस्तोलाग्यो मेरो बाँच्ने आधारपनि उसैको पछिलाग्यो ।
अमेरीका पुगेर पनि ऊ फोन गरिरहन्थ्यो । मेरो बारेमा चिन्तित भैरहन्थ्यो । मलाई अलि राम्रो डेरा खोजेर सर्न भन्थ्यो । काम कम गर्न भन्थ्यो । आफ्नो ख्याल गर्न आग्रह गरिरहन्थ्यो । तर म न आफ्नो ख्याल राख्नसक्थेँ न काम कमगर्न— उसको अमेरीका जाँदाको रिन जो तिर्न बाँकी थियो ।
बिस्तारै दिनहरु बित्दै जाँदा उसका फोनकलहरु पातलीदै गए ।
४ बर्ष बितेपछि उसले त्यहीँ एउटी सँगै पढ़ने नेपाली केटीसँग कोर्टमा बिहे गरेको कुरा सुनायो । मेरो बिश्वाश र सपनाको घर बिस्तारै चर्कीयो । म निक्कै बेर केही बोल्न सकिनँ । उसैले अलि अपराधबोध गरेझै गरी भन्यो, "आमा, यहाँ डॉक्टरी पढन सजिलो छैन । एक्लै त झन संभव नै छैन । पढनपाउने खर्चले धान्दैन । दुईजाना भएपछि एकजनाले पढ्यो एकजनाले काम गरेर ख़र्च धान्यो । त्यसैले मैले मन्जुसँग बिहेगरेँ । अहिले म पढदैछु ऊ काम गर्छे । मेरो पढाई सकिएपछि म काम गर्छु ऊ पढ़ाई पुरागर्छे । अन्यथा सोचेर मन नदुखाउनुहोला ।"
मन त कति दुखेकोथियो कति तर त्यो दुखेको मनको पिडा मैले उसलाई देखाउन, बुझाउन कोशिश गरिनँ । देखाएर बुझेको पीडाले त्यति दुख्दैन, जति बुझेर देखेको पीडाले दुख्छ ।
अर्को चार बर्ष बित्यो । श्रवणका सिमीत फोन कल अब झनै कम भएकाथिए । अब म अलि चिन्तितथिएँ भविष्यलाई लिएर । के हुन्छ मेरो ? दिन दनै उमेरले नेटो कटदैथियो । कुनै निष्चीत आम्दानी थिएन । कमाएको पैसाले रिण तिर्दै र दुख सुख हातमुख जोड्दै ठिक्कथियो । तलमाथि केही भैहाले कस्ले हेर्थ्यो मलाई ? रगतले सिंचेर हुर्काएको छोरो मेरो, दशैँ, तिहार,मातातिर्थे औँसी, तीजमा त मलाई संझन्नथ्यो भने, उस्ले मेरो रेखदेखमा औँला हल्लाउला, अब मलाई आशलाग्न छोडेको थियो।
छोरो गएदेखि मेरो एउटै उपलब्धि थियो—साहुनी दिदीको प्रोत्साहनमा मैले फ़ुर्सत निकालेर घर नगिचैको, साँझमा पढाई हुने स्कुलजान सुरुगरेथेँ, जहाँ हरेक उमेरका मान्छेहरू पढन आउँथे । बिगत आठ नौ बर्षमा मैले नेपाली राम्रैसँग र अंग्रेजी जिनतिन पढन लेख्न जानेथेँ । दिदीको प्रोत्साहन र श्रवणको बियोगले मलाई शिक्षित त होईन शाक्षर बनाईदिएको थियो ।
०००
एकदिन बिना कुनै पूर्व सुचना मेरो छोरो मेरो सामु उभिन आयो ।
उसलाई हृष्टपुष्ट,देखेर मैले आफ्ना सारा दुष्चीन्तता र गुनासो बिर्षिएँ । तर उसले भित्रपस्ने बित्तिकै निधार खुम्चाउँदै भन्यो, " तपाईँले अझै छोडनु भएनछ यो मुसाको दुलो जस्तो निसास्सीने कोठा ।"
मेरा आँखामा उसलाई देखेर जुन खुशिको आँशु उत्रेथ्यो त्यसमा अचानकै पीडा मिसीयो ।
यहि निसासीने कोठाको आश्रयमा हुर्केर अमेरीका पुग्न सफल भएको उसले यो पनि बिर्षन भ्याई सकेकोथियो —उसको अस्तित्वलाई दुनियाँ सामु ल्याउनका लागि सुरक्षा कवच सावित भएकोथियो यो मुसाको दुलो मेरालागि ।
उँचाईमा पुगेर भऱ्याङ बिर्षन सिकीसकेकोरहेछ उसले यी बर्षहरुमा—यो जानेर झनै मर्माहत भएँ म । तर पनि मनको तितो बोलिमा नमिसाउने कोशिश गर्दै मैले उसको हालखबर सोधेँ । उसले मुख खुम्चाउँदै मलाई ढोग्यो अनि कहाँ बसौ, कहाँ बसौ भन्ने भावले कोठाभरी आँखा डुलायो र अन्त्यमा हिचकीचाउँदै गएर खाटमा बस्यो । म उसको अनुहारको भावमा प्रस्ट झल्केको असुभिधा नदेख्ने प्रयत्न गरीरहेँ
जब मैले चिया बनाउन तरखर गरेँ उसले 'दुख न गर्ने' आग्रहका शाथ भन्यो, " बरु छिट्टै तयार हुनुस् । तपाईँको पासपोर्ट बनाउने ब्यवस्था मिलाएकोछु । सकेसम्म सबै कुरा समय मै मिले तपाईँलाई शाथै लिएर फर्कन्छु ।"
पछि मैले थाहापाएँ—ऊ त लगभग एक हप्तादेखि आएर ससुरालीको महलमा बसेको रहेछ ।
मेरो डलर कमाउने, डाक्टर छोराले सजिलैसँग मेरो पासपोर्टमा भिसा छाप्यो र एकदिन मलाई साथ लिएर अमेरीका उड्यो ।
हिड्नु अघि मलाई चिन्ने जान्ने सबैले प्रतक्षमा मलाई बधाईदिए अनि भित्र भित्रै डढेर खरानिभए । आमा सरहकी घरबेटी दिदीले आँखा भिजाउँदै भनिन्, " राधिका, तिम्रा दुखका दिन सकिए । हाम्रो सल्लाह मानेर गर्भपात गरेकीभए यो दिन कसरी देख्थ्यौ ? काटनु जति गोता काटिसक्यौ मोरी, अब तिम्रा सुखका दिन आए । सन्तानको सुखमा भुलेर हामीलाई नबिर्षे, सम्झदैगरे ।"
मेरो मन र आँखा दुबै रसाए । त्यो मुसाको दुलो जस्तो कोठा छोडदा किन किन मन बेस्सरी हक्कानियो । महसुस गर्नेहरूकै लागिरहेछ माया मोहको सकस पनि, नत्र त सुविधा र सहुलियत नै त रहेछ सम्बन्धको साइनो पनि !
जन्मेर हुर्केको कोठामा एकदिन नबसेर, आमाको हातको एकछाक खानानखाएर ससुरालीको महलमा मेजमानि खाएर आएको छोरोको ब्यवहारले नै सबै राम काहानी भनिसकेको भएपनि भविश्यको चिन्ताले घेरिएकी म छोरोको पछिलागेर सात समुद्र पारी त आएँ तर छोरा बुहारीको चिसो ब्यावहार देखेर आएको भोलिपल्टैदेखि पछुताउन थालेँ ।
बुहारीले छोरो पाई । त्यसै छोईनसक्नुकी बुहारी झन महँगीभै ।
छोराले ससुरालीले पठाएका बच्चाका लुगा फाटा र अरु सामानहरुको रास लगाएको देखेर त्यसै खुम्चीएकी मलाई लक्ष्य गर्दै बुहारीले भनि, " एउटा भोटो पनि ल्याउनु भएन हगी, तपाईँले ? हजुरआमा त तपाईँ पनि त हो नि ? कति नै पर्थ्यो र एकजोर लुगालाई ? तर मनमा नभएपछि के लाग्छ र ?"
"बाबुले केही भनेन..." सधैँ चुपलागेर सबै सहने मैले आहत भएर भन्न खोजेँ," नत्र त..."
"भो बाहाना नबनाउनुस ।" उसले उपेक्ष्या पूर्वक भनि ।
मलाई भन्न मनलाग्याथियो, ‘मनमा नभए रगत पसिनाले जोडेको नाक कानको सुन मासेर, खरखाँचोका लागि भनेर साँचेको सबै पैसा खर्चेर म तिम्रो निम्ती तिलहरी र बाला किन ल्याउँथेँ ?’ तर भन्नसकीनँ ।
तीन महीनामैँ बुहारी काममा जानथाली । म पकाउने, ख्वाउने, धुने, सुकाउने र सरसफाईमा यति ब्यस्त भएँ जति पहिले कहिल्यै भएको थिईनँ ।
साँझमा कामबाट फर्केपछि छोरा बुहारी फ़ुर्सत भए घुम्न निस्कन्थे । म नाती खेलाउँदै खाना बनाउँथेँ ।
नेपालदेखि ल्याएको लुगाले यहाँको चिसो धान्न नसकेर मुटु लगलग काम्थ्यो त्यसैले एकदिन मैले छोरा बुहारी सँगैहुँदा एउटा न्यानो स्विटर किनेर ल्याईदिने आग्रहगरेँ । छोराले बुहारीको अनुहार हेर्यो ।
केही दिन यसै बिते ।
एकदिन बुहारीले एउटा होईन दुई तीनवटा न्याना लुगा मेरो सामु राखिन, जुन नयाँ थिएनन् ।
मेरो लगभग सारा जीवन जडाउरी लगाएरै बितेपनि त्यसबेला बुहारीको जडाउरीले आहत भयो मन ।
मैले नमाग्दै उस्ले ती लुगा मलाई दिएकीभए म चुपचाप लगाई पनि दिन्थेँ तर छोरासँग आग्रह गरिसकेपछि आएको त्यो जडाउरी मैले स्वीकार्न सकिनँ ।
छोरा बुहारी घोचपेच गरीरहे, बचन लगाइरहे तर मैले बुहारीको पुरानो लुगा लगाईनँ ।
लगभग दुई बर्ष बितिसक्दा पनि मैले त्यो घर, घरछेउको ठुलो पार्क,कुनाको न्यूज़ एजेन्सी, सँगैको कन्भिनियन्ट स्टोर बाहेक अमेरीकाको अरु केही देखेकी थिईनँ ।
सम्धी सम्धीनी आए र दुई महीनामा लगभग सिङ्गै अमेरीका मात्रै होइन, आसपासका देश पनि घुमेर गए तर म छोरा बुहारीको भात भान्सा र खटन पटन मै ब्यस्त रहेँ । अँ, यत्ति उपलब्धी चाहिँ भयो की हाम्रै छरछीमेकमा, मेरैजस्तो स्थितिमा भएका अरु केही 'राधीका'हरुसँग मेरो चिनजान र घनिष्टता भयो । जसमध्ये हाम्रै घर छेउकी निर्मला दिदीको हालतले सारै अमिलीन्थ्यो मेरो मन ।
उनी पढेलेखेकी राम्रो ख़ानदानी मान्छे थिईन । लोग्ने बाँचुन्जेल उनलाई राजरानी बनाएर राखेका थिए । नोकर चाकर, सम्मपन्न घर, तर लोग्ने बितेपछि सबै तितर बितरभएछ । बिचरी सोझीसाझी निर्मला दिदीको छोराले सबै बेच बिखन गरेर बैंकमा भएको पैसा पनि 'अब तपाईँ फर्केर यहाँ आउने होईन क्यारे, यो पैसा यहाँ के काम ? म डलर साटेर तपाईँको नाममा अकाउन्ट खोलेर राखिदिन्छु ।" भनेर जिटमिट्याएछ ।
आज उनी दश धारा रोएर दिन बिताउँदैथईन । कहिल्यै कुनै दुख नगरेकी उनको कुनै कामको ढङ्ग थिएन । जानि नजानि रात दिन खटिंदा पनि छोरा बुहारी बचनलाउन छोड्दैनथे । उनी सधैँ उदाश स्वरमा
एउटै कुरा भन्थिन, " तिमीले जसरी खट्न सके, काम काजमा यति खप्पीस भएकीभए म त फर्केर नेपालै जान्थेँ । दश धारा दुध चुसाएर हुर्काएको छोरोको बचन सुनेर यो बिदेशमा बस्नु भन्दा त आफ्नै देशमा आँटो पिठो खाएर बस्न बेस ।"
तर भन्न जति नै गर्न सजिलो कहाँ थियो र ? हातमा सुको थिएन, मद्दत गर्ने कोही आफन्त थिएनन् ।
हुन त सबै छोरा बुहारी, ज्वाई छोरीहरु हाम्रै जस्ता थिएनन् । साँचो श्रवणकुमारजस्ता छोरा छोरी जन्माउने भाग्यसाली, गौरवशाली आमाहरु पनि थिए छरछिमेकमा तर उपेक्षित आमाहरुको संख्या धेरै थियो ।
म नाती हेर्थे, घर हेर्थे र दिउँसो एक्कैछिन फ़ुर्सत हुँदा मुला, गोलभेडा र मसलाको अचार बनाउँथे जसलाई निर्मला दिदी वरपरका नेपाली, भारती, बांग्लादेशीहरूको घर घरमा गएर बेच्थिन ।
मैले काम गर्दा उनी आफ्नी नातिनीसँगै मेरो नाती पनि हेर्थिन, उनी बाहिर जाँदा म उनको नातिनी हेर्थे । हामी चुपचाप यो काम गर्थ्यौ । निर्मला दिदी नै लिस्ट बनाएर सबै चीज़ किनेर ल्याउँथिन । म टाकटुक मिलाएर अचार बनाउँथे । अचार बेचेर हातमा आएको पैसा हामी बराबर बाड्थ्यौँ । नाती नातिनीकालागि इच्छा लागेको सानो तिनो कुरा किनिदिन्थ्यौँ । आफ्ना स-साना रहर पुरा गर्थ्यौ ।
पैसा हातमा पर्नथालेदेखि म प्रत्येक महिना लटरी टिकट किन्थेँ । निर्मला दिदी भन्थिन्, " हामी जस्ता भाग्यहीनलाई के पर्थ्यो चिठ्ठा । बेकारमा हातमा भएको २-४ डलर पनि किन खेर फाल्छौ मोरी ?"
जवाफमा म भन्थेँ, " दिदी ! कुनै त कारण होला जो भाग्यले हामीलाई यहाँ ल्याएर पछारेकोछ ? के थाहा, तपाईँको र मेरो उद्धार यसमै पो छ की ।"
उनी अविश्वास पूर्वक मलाई हेर्थिन ।
'नेप्लीज पिकल' भनेर प्रख्यात हुनथालेको मेरो अचारको चर्चा मेरी बुहारीको कानमा के पर्यो, ऊ आफैँ अडर्र लिएर आउन थाली र मैले बनाएको अचार, फुरंदाना र निम्कीको ब्यापारमा लागी । मेरो मन खिन्न भयो । जुन अलिअलि पैसा हातमा पर्थ्यो, त्यो पनि लगभग बन्दभयो ।
चौथो बर्षको अन्त्यतिर एकदिन जब निर्मला दिदी र म नाती नातिनी डुलाउँदै पार्कमा पुग्यौँ, म दिदीलाई नाती ज़िम्मा लाएर सधैँ झैँ लटरी टिकट चेकगर्न गएँ । टुटे फुटेको कामचलाउ अग्रेजी त म बुझ्थेँ, बोल्थेँ पनि तर त्यसबेला त्यो न्यूज़ एजेन्सीको मान्छेले भनेको कुरा उसले ४ फेर दोहऱ्याए पनि मैले बुझिनँ या पत्याउन सकिनँ ।
म दौडेर निर्मला दिदी भाठाउँमा गएँ अनि निलो कालो हुँदैभनेँ, " ए दिदी, त्याँ पसलाँ हिन्नुस त । त्यो गोराले त अचम्मको कुरा पो गर्छ त ।"
दिदी र म फेरि न्यूज़ एजेन्सीमा गयौँ ।एजेन्सीको मान्छेले फेरि अर्थ्याएर भनेपछि बल्ल मेरो दिमागमा घुस्यो—साँच्चै नै, मेरो फुटेको तकदीरले चमत्कार गरेछ । मलाई नपत्याउँदोगरी चिठ्ठा परेछ ।
दिदी वाल्ल परेर कहिले मलाई अनि कहिले त्यो पसलेलाई हेरीरहिन् । सुनेर पहिले त मलाई पत्यारै लागेन, जब लाग्यो, मेरा आँखामा आँशु उम्लियो । पेटको आन्द्रा बटारीयो । मैले बाहिर निस्केर बान्तागरेँ । सम्हालिएर भित्रपसेपछि पसलेले पासपोर्ट माग्यो । मैले घर गएर पासपोर्ट ल्याएर दिदीको हातमा दिएँ ।
अन्त्यमा दिदी र म कसैलाई केही नभन्ने अठोटकासाथ निक्कैबेर लगाएर फ़र्म सर्म भरेर न्यूज़ एजेन्टले भनेको सबै औपचारिकता पुरागरेर घर तर्फलाग्यौँ । बाटोमा लामो हिसाब किताब गरेर दिदीले भनिन्, " ट्याक्स काटेर पनि करोडौ बराबरको नेपाली पैसा पाउँछ्यौ मोरी, के गर्छ्यौ त्यतिका पैसा ?"
म केही बोलिनँ ।
खबर सानो थिएन त्यसैले हामी चुपलागे पनि कुरा एककान दुईकान मैदानभयो ।
मेरो छोरा बुहारीले मलाई म यहाँ आएदेखि पहिलो पटक आफ्नो छेउमा बसाएर विनम्र स्वरमा चिठ्ठाको बारेमा सोधे र टिकट हेर्ने ईच्छा ब्यक्तगरे । मैले फोटोकापी देखाएँ । छोरा बुहारीले मुखामुख गरे ।
छोराले ओरीज्नलको बारेमा सोध्यो । मैले 'सुरक्षित छ' भनेँ ।
छोरा बुहारीले नम्बर मिलाएर हेरे । दुबैको अनुहार धपक्क बल्यो । त्यसपछि छोराले मेरो चिसोले कठाग्रिएर निलो भएको, दरखरीएको हात थामेर भन्यो, " के भएको यो तपाईँको हात ? हेर त मन्जु, कती साह्रो, कति खस्रो ?"
बुहारीले पनि मेरो हात सुमसुम्याउँदै भनि," लौ हेर त ! घरमा यतिका क्रिम र लोसनहरु छन् यसो लगाउने गरे हुन्छ नि ? म आज भरे आउँदा अलि राम्रो खाले ह्याण्ड क्रिम लिएर आउँछु तपाईंकालागि ।"
"अली ख्याल राखन है आमाको ।" छोरो मेरो हात सुमसुम्याई रह्यो ।
मैले म यहाँ आउँदा ताकाको एउटा दिन याद नगरी रहन सकिनँ ।
•••
अमेरिका आउँदाताकाको एकदिन हात पटपटी फुटेर चहऱ्याएर छुट्टी भयो र बाथरूममा भएको एउटा बट्टाबाट केही नहेरी क्रीम झिकेर लगाएँ । अली संचो महसूस भयो त्यसैले दिनभरीमा २-३ फेर लगाएँ ।
साँझ बुहारी आएर बाथरूममा के छिरी, सिङ्गै घर उचाली ।
"यती महँगो अनुहारमा लगाउने क्रिम खाएर पो सकेजस्तोछ तिम्री आमाले । एकपैसाको उत्पति छैन दश पैसाको खती । अनपढ़, गँवार त छन् छन् एकथोपाको सोमत पनि छैन यिनको । अर्काको घरमा अर्काको सामान चलाउँदा सोध्नसम्म त पर्छ नि ।"
बुहारीले नेपालीमा अग्रेजी मिसाएर भनेको एक एक शब्द बुझेर पनि म त्यति मर्माहत भईनँ जति छोराले," क्या आमा, तपाईँ पनि, पढन आएन ठिकैछ, कमसेकम सोध्नु त पर्छ उसको सामान चलाउनु अघि ? थाहा छ कति पर्छ त्यो क्रीमको ? तपाईँले नेपालमा एकबर्ष कामगरेर कमाएको पैसा भन्दा धेरै पर्छ । बुझ्नु सुझ्नुछैन, त्यसै ।" भनेको सुनेर भएँ ।
•••••
मलाई चिठ्ठापरेको बिश्वासभएपछि उनीहरुले यो भन्दा राम्रो ठाउँमा घर किन्ने, छोरोलाई राम्रो स्कुलमा राख्ने, होलीडेमा जाने आदि इत्यादि सारा सपना देखेर भ्याए आफ्ना लागि ।
मेरा लागि पनि नयाँ न्यानो लुगा आयो । ह्याण्ड क्रिम आयो । बुहारी म यहाँ आएदेखि भान्सामा छिरेकी थिईन, उसले भान्सामा पस्न सुरुगरी ।
जब पैसा पाउने निदो भयो, छोराले भन्यो," मेरो आकाउन्टमा राखे भैहाल्छ नि । तपाईँको त अकाउन्ट पनि छैन त्यसमाथि त्यत्रोबिधी पैसा । फेरि मेरो अकाउन्ट पनि तपाईँकै त हो ।"
"जब तिम्रो घर मेरो भएन, तब तिम्रो अकाउन्ट मेरो कसरी हुन्छ बाबु ? तिमी चिन्ता नगर । म सबै सम्हाल्छु, सम्हालीराछु ।" मैले बिस्तारै भनेँ ।
एकैछिन छोराको अनुहार रातो भयो तर पनि उसले भनेरै छोड्यो, " आमा तपाईँ सोझो हुनुहुन्छ । लेखपढ गर्न जान्नुहुन्न । कसैले जाल झेल गरेर सबै पैसा लिईदिए भने के गर्नुहुन्छ ?"
"सोझोछु बाबु त्यसैले परमात्माको निगाहमाछु । जे मेरो निधारमाछ त्यो मसँग कसैले खोस्न सक्दैनँ । जे मेरो निधारमाछैन त्यसलाई जतिसुक्कै कपट गरेपनि म आफुसँग राख्न सक्तिनँ त्यसैले तिमी चिन्ता नगर ।"
त्यही साँझ उसले एउटा फर्म मेरो अगाडि राख्यो र भन्यो, " पासपोर्टमा लेखेझैँ ऊ यो, यो ठाउँमा आफ्नो नाम लेख्नुस ।"
नेपालमा पासपोर्ट बनाउँदा मैले नै अघिसरेर भनेकोथिएँ, " म आफ्नो नाम लेख्न सक्छु ।"
"के हो यो ?" मैले सोधेँ ।
"के हुनु नि अरु, तपाईंको बैंक अकाउन्ट खोल्ने निवेदन । आफ्नै अकाउन्टमा पैसा राख्छु भन्या होईन तपाईँले ? पासपोर्ट झिक्नुस्, टिकट पनि झिक्नुस् ।" उसले भन्यो ।
मैले ध्यान दिएर त्यो फ़र्म हेरेँ । त्यो अकाउन्ट खोल्ने निवेदन नभएर अथरीटी लेटरथियो जसमा लटरीको पैसा आफ्नो एक मात्र संतानलाई बुझ्न र उसको अकाउन्टमा राख्न म सहर्ष, बिना कुनै दवाब मन्जुर भएको कुरा लेखिएको थियो ।
"अंग्रेज़ीमा लेखिएकोछ तपाईँ कहाँ बुझ्नुहुन्छ र यति ध्यान दिएर हेरीरहनु भएको ? नाम लेख्नुस छिट्टो ।" छोराले हतारीदै मलाई पेन थमाउन खोज्यो । मैले आँखा उठाएर उसको अनुहारमा हेरेँ । आफ्नो अगाडि साक्षात दामोदर उभिएको देखेँ मैले । मेरो हात उठ्यो र उसको गालामा ठोक्कीयो ।
"आमा !” ऊ दुखेर होईन, अचम्भित भएर चिच्यायो ।
"दामोदरको रगतमा आफ्नो दुध मिसाएर मैले सोचेँ त्यो रगतको बिकृती पखालियो, तर कत्रो ठूलो भ्रम मेरो ? झुप्रो बाट उठाएर यहाँ सम्मको बाटोमा तँलाई उभ्याउन हज़ार, लाख पटक मारेँ मैले आफुलाई तर अहिले आएर थाहा भयो—त्यो सबै ब्यर्थ भएछ । मेरो तँलाई मान्छे बनाउने कोसिस ब्यर्थ भएछ । मेरो दुधले होइन, दामोदरको रगतले जितेछ, तँ त आफ्नो बाउझैं स्वार्थी, नरभक्क्षी नै निस्केछस् श्रवण ।”
“आमा !”
“यो जुन थप्पड़ मैले अहिले तँलाई हानेँ त्यो वास्तवमा मेरो आफ्नैलागि हो । किनकी मैले नै तँलाई सन्तान मान्ने गल्ती गरेँ । भविश्यको पूँजी, सहारा मानेर रगतले सिंचेर हुर्काउने गल्तीगरेँ । आज मलाई ती बितेका हरेक रात प्रति अफसोस छ जब तँलाई न्यानोमा सुताएर म तैँले भिजाएको ठाँउमा सुतेँ । मलाई ती साँझ बिहान प्रति अफसोसछ जब तेरो पेट भर्न आफु भोकै बसेँ । त्यो जाडो याम प्रति अफसोसछ जब तँलाई न्यानो राख्न मैले हिउँ झैँ कठाग्रीएर रात बिताएँ । ती गर्मीका रातहरु प्रति अफसोस छ जुन तँलाई हम्केर सितलता दिदैँ आफु पसिनामा भिजीरहेँ । श्रवण, मलाई यतिबेला सबै भन्दा ठूलो अफसोस तँलाई जन्माएकोमा छ ।" मैले निश्वास फेरेर आँशु पुछ्दै फेरि भनेँ," तेरो पेट भर्नको निम्ती म आफ्नो शरीरसम्म बेच्न तयार थिएँ कुनै दिन तर आज तँ पैसाको निम्ती मलाई अनि आफ्नो इमानलाई बेच्न तयार भईस ।"
"आमा !"
"मलाई बाँकीको सारा जीवन तेरो भात भान्सा गरेर बिताउनमा कुनै गुनासो थिएन, बुहारीको बचन सहन गाह्रो थिएन यदि तँ मात्रै मेरो संन्तान बन्न सकेकोभए ।"
"हामीले तपाईंलाई यहाँ नल्याएकोभए कसरी पर्थ्यो लटरी तपाईँलाई ? त्यसैले हाम्रो पनि हक छ यो लटरीको पैसामा ।" बुहारीले च्याँठिदै भनि ।
"हक ?" मैले ब्यग्य पूर्वक भनेँ," त्यसो त तिम्रो पोई मेरो पेटमा भएको थाहापाएका सबैले मलाई गर्भ तुहाउन सल्लाह मात्र होईन दबाव नै दिएका थिए । उनीहरुको कुरा मानेर १८-१९ बर्षकी मैले गर्भ तुहाई दिएकोभए कहाँ हुन्थ्यौ तिमी, यो हकको कुरा गर्न ? अधिकार जताउन ?"
बुहारी रातो मुखलगाउँदै के भनौ के भनौ भनेर बोल्ने शब्द खोजिरही ।
" तर मलाई तिमीसँग कुनै गुनासो छैन । मलाई थाहा छ, मेरो गर्भ चिरेर, मेरो भागको गाँस खाएर, मेरो रगत पसिनामा डुबेर हुर्केको मेरो छोराले मलाई आमाको सम्मान दिएकोभए तिम्रो हिम्मत हुन्थेन मेरो अनादरगर्ने ।" मैले भनेँ, " तर पनि यति अवश्य भन्न चाहन्छु —छोरा तिमीले पनि जन्माएकी छौ, हुन सक्छ मैले भोगेको नियती तिम्रो भागमा नपर्ला तर यो नबिर्ष कि तिम्रो संतानको रगतमा मेरो संन्तानको रगत मिसिएको छ । तिमी 'राधिका' नभएपनि तिम्रो संन्तान 'श्रवण' हुन सक्ने संभावना छँदैछैन भन्ने नसोच ।"
उसको अनुहारको रंग फेरीयो । उसले घुटुक्क थुक निल्दै श्रवणलाई हेरी ।
" तिमी लाख सम्पन्न परिवारकी छोरी सही तर मेरो छोराकी स्वस्नी हौ, यो सत्य तिमीहरुलाई याद नभए पनि नियतीले बिर्षने छैन । आज मेरा छोरा बुहारीले मलाई जे दिए त्यो तिम्रा छोरा बुहारीबाट तिमीले कहिल्यै पाउनु नपरोस् । तिमीलाई दिनको लागि यो भन्दा ठुलो आशीर्वाद मसँग अरु केही छैन ।" म उठेँ । आफ्नो अगाडिको फ़र्म धुजा धुजा बनाएर छेउको डस्टबिनमा हालेँ अनि बिस्तारैभनेँ, " मैले पहिले कहिल्यै भनेकीथिइनँ—यो फर्ममा लेखिएकोजति अंग्रेजी कनिकुथी पढन र बुझ्न आउँछ मलाई भनेर । आज सम्मका तिम्रा ती अंग्रेज़ी गाली, अपशब्दहरु पनि नबुझेको होईन मैले, तर यो कुरा तिमीहरुलाई बुझाएर पनि केही फाईदा थिएन ।"
उनीहरुको अनुहार बिर्वण भयो ।
" हुन त तिमीहरुको सबैखाले दुर्ब्यबहार सहेर पनि म सबैजसो पैसा तिमीहरुलाई दिन तयार थिएँ तर तिमीहरूले गरेको सबै गुटमुट्याउने जालजेलपछि म तिमीहरुलाई एउटा फुटेको पैसा दिन सक्दिनँ । जो जन्मदिएको कोखलाई पनि ठग्न र लत्याउन तयार हुन्छ त्यो, सन्तान त के, मान्छे पनि हुनसक्दैन ।” मैले श्रवणको चूक घोप्ट्याएजस्तो अनुहारमा हेरेँ,
“मैले वकील राखेकीछु यो सबै पैसा बुझेर नेपाल पठाउको लागि । त्यहीँ गएर म, म जस्तै अरु थुप्रै राधिकाहरुको मद्दत गर्ने एउटा संस्था खोलेर बस्नेछु । किनकी यो पैसाको आवश्यकता ती राधिकाहरुलाई छ जसको दामोदर जस्तो लोग्ने र तिमीहरु जस्ता संन्तान हुन्छन् । मलाई थाहा छ यो सब भैसकेपछि तिमीहरु मेरो नाम लिन चाहनेछैनौ तर केही छैन, म सोच्नेछु—मैले आफ्नो गर्भ त्यसैबेला तुहाएँ । कुनै संतान जन्माईनँ । मलाई दागबत्ती, किरीया र पिण्डको पनि कुनै लोभ वा इच्छा छैन र तिमिलाइ .......